
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताउनुभएको छ ।
चेम्बरको अध्यक्षमा निर्वाचित भए पछि अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । नवनिवार्चित अध्यक्ष अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने,निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजी क्षेत्र समस्यामा रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानको लागि सरकारसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजी क्षेत्र धरासयी अवस्थामा पुगेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजी क्षेत्र समस्यामा पर्नु भएको दाबी गर्नुभयो ।
अध्यक्ष अग्रवालले मुलुकमा उत्पादनमुलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताउनुभयो । देशभरका सटरहरु खाली गरेर धेरै व्यवसायीहरु विदेश पलायन भएको दाबी उहाँको थियो । अध्यक्ष अग्रवालले रोजगारी कटौती हुँदा विदेश जानेहरुको संख्या बढेको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभयो । भारतमा कोभिड लगायतका समस्यालाई कुशल व्यवस्थापन मार्फत नियन्त्रण गर्दा जिडिपी ग्रोथ ७ प्रतिशत बढी भएको बताउनुभयो । उहाँले राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताउनुभयो । राजस्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाब खेप्नुपरेको उहाँको भनाई छ ।
अध्यक्ष अग्रवालले अर्थतन्त्र लयमा ल्याउनको लागि योजना तथा नीति निर्माण गर्ने निकायहरुबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यथार्थपरक आउनुपर्ने जिकिर गर्नुभयो । अध्यक्ष अग्रवालले सरकारले गत वर्ष जथाभावी रुपमा व्यवस्था गरेका करका दरहरु पुरानै अवस्थामा फर्काउनुपर्ने बताउनुभयो । उहाँले बजेटमार्फत सरकारले अनावश्यक करका दरहरु बढाउन नहुने भन्दै करका दरहरु बढाउँदा व्यवसायीहरु निरुत्साहित हुने बताउनुभयो । करका दर वृद्धि गर्दा चोरीपैठारी बढ्ने र निजी क्षेत्रको व्यापार घट्न थालेको उहाँको भनाई थियो । सरकारले निजी क्षेत्रको संरक्षणको लागि करका दरहरु घटाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्