२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मेयरको कार्यशैलीप्रति वडाध्यक्षहरुको आपत्ति


910
Shares

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाका मेयरको कार्यशैलीप्रति बहुमत वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले आपत्ति जनाएका छन् ।

नगर क्षेत्रमा सञ्चालन भएका विभिन्न कार्यक्रम/योजनालगायतका विषयमा असन्तुष्टी जनाउँदै उनीहरुले मेयर धनपद यादवले एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको आरोप लगाएका हुन् । विभिन्न विषयलाई लिएर गत चैत १९ गते सात दिने अल्टिमेट दिएर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बोलाउन लिखित निवेदन नगरपालिकामा दर्ता गराएका थिए ।

१८ वटा वडा रहेको नगरमध्ये १३ जना वडाअध्यक्षले मेयरको कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन् । वडाध्यक्षहरुले प्राथमिकतामा नै नपरेका योजनालाई आफू निकट व्यक्ति र कार्यकर्तालाई दिने गरेको, निर्वाचित भएको दुई वर्ष बितिसक्दा पनि योजना अनुगमन समितिलाई पूर्णता नदिएको, आफूखुसी शिक्षक सरुवा गर्ने गरेको, आइईई गरेका खोलाको ठेक्का नलगाएकोजस्ता आरोप मेयर यादवमाथि लगाइएको छ ।

अभिभावकको लिखित असहमतिका बाबजुद नगर शिक्षा समितिको बैठक राखेर विद्यालय व्यवस्थापन समिति गठन गर्ने गरेको, योजनाको रकम दिंदा वडाको सिफारिस बिना भुक्तानी गर्दा आर्थिक चलखेलको आशंका उत्पन्न भएको लगायतका विषयमा छलफल गर्न बैठक बोलाइए पनि मेयर यादवले चासो नराखेको उनीहरुको गुनासो छ ।