
जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन् ।
यसअघि परिवारका अग्रजबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ । होली पर्वमा रङ, अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दलिन्छ ।
जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परासमेत छ । पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । अचेल यो परम्परा लोप हुँदै गएको छ । मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ ।
जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा ’सेभ हिस्टोरिकल जनकपुरधाम’को अगुवाइमा केही वर्ष यतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ । शीतलताको प्रतीकका रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको मधेश प्रदेशका प्रदेशसभा सदस्य रामआशिष यादव बताउँछन् ।
जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ । यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने गरेको यादवको भनाइ छ । यसका अतिरिक्त जुडशीतल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण छ । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालामा रोगहरू नलाग्ने विश्वास रहेको छ ।
गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोदकुमार झाको भनाइ छ ।
यसअघि मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाइन पर्व मनाइएको छ । यस पर्वको अवसरमा घर–घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ । घरका देवीदेवतालाई प्रसादका रुपमा सातु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्छन् । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्