
काठमाडौं । नेकपा (एमाले)ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्वस मनाउने भएको छ ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर सो महोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
गोदावरीको सनराईज हलमा आयोजना हुने सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । सो समारोहमा एमालेले भने पार्टीको तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेण्ट्री प्रस्तुत गर्नेछ ।
महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे पनि एमालेले सो विशेष समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने बताउनुभयो । त्यसैगरी एमालेले सोही हलमा वैशाख ८ र ९ गते (भोलि र पर्सी) पार्टीका महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बोलाएको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा केन्द्रिय सदस्यसहित २४५४ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रश्तुत गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्