
काठमाडौं । नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
चार टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले दुई खेल जित्यो ।
लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रह्यो । अब यी दुईले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछ । फाइनल र तेस्रो स्थानको खेल शनिवार नै हुनेछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपिएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ ले हरायो । लिगको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ हराउँदै तीन खेलबाट ६ अंक बटुल्यो ।
पुलिसले आर्मीको चुनौती २५–१९, १७–२५, २५–१५ र २५–१३ ले समाप्त पा¥यो । पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको पुलिसले दोस्रो खेलमा न्यु डायमण्डलाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । शुक्रवार लिगको तेस्रो खेल पनि जितेपछि पुलिस फाइनलमा पुगेको हो ।
लिगको अन्तिम खेलमा न्यु डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएपछि फाइनलमा पुग्न असफल भयो । समान तीन खेलबाट एपिएफले सात अंक बटुल्दा न्यु डायमण्डले चार अंक प्राप्त ग¥यो । यससँगै एपिएफ लिग विजेता र पुलिस उपविजेताका रूपमा फाइनलमा पुगे ।
एपिएफले न्यु डायमण्डलाई २५–१६, २५–१८, १९–२५,१३–२५ र १५–११ ले हराउँदै अपराजित यात्रा कायमै राख्यो । चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्