
काठमाडौं । बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भई रहेको छ ।
मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै मतदान गर्न मतदाता मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
अहिलेसम्म ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र–१ (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको पनि मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । बझाङमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बझाङ १ क मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन भएको हो । यहाँका ९४ मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको हाम्रा बझाङ संवाददाता डिबी बिष्टले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्