
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।
बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।
मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए ।
५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिकाहरू सोझै इलाम नगरपालिका ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्