
काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ ।
सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट बैठक आगामी संसद बैठक चलाउने संघीय संसद सचिवालयको चाहना अनिश्चित बनेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक रुपमै छिटोभन्दा छिटो संसद भवन निर्माणको काम सम्पन्न भएमा नयाँ संसद भवनबाट बैठक चलाउने चाहाना व्यक्त गरिरहनुभएको छ । तर संसद भवन निर्माणको काम सम्पन्न हुन नसक्दा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको चाहना अनिश्चित बनेको हो ।
सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ(भ्याटसहित) मा बन्न लागेको संसद भवन ३ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनि २०७६ साल असोज १६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत्र १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो मितिपनि नाघिसकेको अवस्था छ । हाल भवन निर्माणका लागि पुनः म्याद थपको तयारी भइरहेको जनाइएको छ ।
राजनीतिक तहबाट पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिएपनि हालसम्म बैठक सञ्चालन नै गर्नेगरी परिणाम आइसकेको छैन । तर कहिलेसम्म सो स्थानबाट बैठक सञ्चालन हुनेछ भन्ने ठोस जवाफ न सम्बन्धित सरकारी निकायसँग छ । न त निर्माण व्यवसायीसँग नै छ । संघीय संसद सचिवालयसँग पनि यसको ठोस जवाफ छैन । यद्यपी भवन निर्माणको काम भने आफ्नै गतिमा अगाडी बढिरहेकै छ ।
संघीय संसद भवन परिसरभित्र १२ वटा भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन् । प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, कमन लवि, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस भवन, सवारी साधन पार्किङ भवन र सुरक्षाकर्मी भवन निर्माणाधिन अवस्थामा रहेका छन् ।
भवन निर्माण आयोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनले समग्रमा संघीय संसद भवन निर्माणको भौतिक प्रगति ७९ प्रतिशत भएको बताउनुभयो । उहाँले १२ वटा भवनहरुमध्ये सबै भवनहरुमा छाना छाउने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको लागि भने अन्य निर्माणका कामहरु पनि भइरहेको उल्लेख गर्नुभयो । भवन निर्माणको अलावा भित्रि साजसज्जाको काम, फर्निचर, कुर्सी, सुरक्षा लगायतको काममा छुट्टै ठेक्का लगाइएको र सोको कामपनि अगाडी बढिरहेको उहाँले जानकारी गराउनु भयो । त्यसैगरी ६९ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख महर्जनले आफूहरुले छिटोभन्दा छिटो काम सक्न निर्देशन दिइरहेको बताउनुभयो । उहाँले हाल २५० जनामात्रै कामदारले काम गरिरहेको जानकारी दिँदै बाँकी काम सम्पन्न गर्नका लागि प्रतिदिन ६०० देखि ९०० जना कामदार परिचालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । आफूहरुले निर्माण व्यवसायीलाई कामदारको संख्या बढाएर काम गर्न पटक-पटक आग्रह गरेपनि सो अनुरुप हुन नसक्दा काममा ढिलाई भइरहेको उहाँले बताउनुभयो ।
यता, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि नयाँ संसद भवनबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने कुरामा अनिश्चिता रहेको बताउनुभयो । उहाँले सभाकक्षको निर्माण भएर मात्रै पनि बैठक बस्न नसक्ने भन्दै साजसज्जादेखि प्रविधि लगायत सम्पूर्ण प्राविधिक पक्षको निर्माण पूरा भएपछि मात्रै बैठक सञ्चालन गर्न योग्य हुने बताउनुभयो । उहाँले तोकेरै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै अझै केही समय लाग्ने बताउनुभयो ।
प्रवक्ता गिरीले संघीय संसद सचिवालयले पनि निर्माण व्यवसायीहरुलाई छिटोभन्दा छिटो नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सक्नेगरी निर्माण सम्पन्न गर्न झक्झकाइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्