१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो : विष्णु रिमाल


702
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उपमहासचिव रिमालले सो प्रतिक्रिया दिनुभएको हो ।

मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गर्नुभयो । कोशी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उहाँको भनाई थियो ।

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गर्नुभयो । उहाँले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताउनुभयो ।

उपमहासचिव रिमालले काँग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताउनुभयो । उहाँले एमालेले चाहने भने भने शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताउनुभयो ।

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समिकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताउनुभयो ।