
काठमाडौं । जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ ।
काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बसमा चालकसहित ३० जना विद्यार्थी यात्रु सवार थिए । बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाईते भएका हुन् । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु बस दुर्घटना स्थलमा पुगेका थिए ।
दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीयवासी समेत उद्धारमा खटिएका थिए । प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाईतेहरुलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पु¥याएको छ ।
प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बस दुर्घटनामा परेका घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको जानकारी दिनुभयो । मुक्तिनाथबाट फर्किएको विद्यार्थी सवार बस बे्रकफेल भई कागबेनी माथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडककोबीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्