१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोह सार्वजनिक


0
Shares

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ परेको बताउनुभयो ।

उहाँले पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका ४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई पक्रा गरिएको बताउनु भयो । उहाँले बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाओ, टर्की लगायतका देशमा जान अवसर रहेको भनि विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाइ करिव ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनि कर्मचारी खटाइ रकम लिने गरेको खुलेको बताउनुभयो । उहाँले त्यस्तै पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही शुर गरिएको बतउनुभयो ।

यसको मुख्य गिरोहहरु भारतमा बसि काम गर्ने गरेको पनि बताउनुभयो । ४२२ जनाबाट करिव ३ करोड भन्दा बढी रकम उठाएको बताउनुभयो । महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि बताउनुभयो ।

कार्यालयले सोमवार कतारबाट काठमाडौंमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाही मलंगवा ३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेको बताउनुभयो । उहाँले कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिइ आफ्नो भतिज अजिम अलीलाई दिनु भनि निजको मोबाइल नम्बर दिइ पठाएको र पीडित काठमाडौंमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आइ रिसिभ गरेको भन्ने बुझिएको बताउनुभयो । निज अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको बताउनुभयो ।

प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको र उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।