२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकामा विद्यार्थी आन्दोलन चर्कियो


624
Shares

एजेन्सी । अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीहरुको प्रदर्शनले चर्को रुप लिएको छ । प्यालेस्टाइनीहरुको समर्थनमा गरेको प्रदर्शनका क्रममा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई निलम्बन गरेपछि थप आक्रोशित बनेको विद्यार्थीहरुको समुहले प्रदर्शन चर्काएका हुन् ।

त्यस क्रममा उनीहरुले कोलोम्बिया विश्व विद्यालयको एउटा भवन नै कब्जा गरेका छन् । क्याम्पसको पढाइ सुचारु रहेकै बेला आन्दोलनरत विद्यार्थीको समुहुले क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन जारी राखेका छन् ।

गत अप्रिलमा १७ मा कोलम्बिया विश्वविद्यालयबाट शुरु भएको यो प्रदर्शन अहिले अमेरिकाका धेरै विश्वविद्यालयमा पुगेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीले विश्वविद्यालय प्रशासनले इजरायलसँग सबै सम्बन्ध तोड्न पर्ने माग गरेका छन् । ्

अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई धमाधम पक्राउ गर्न थालेको छ । विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ ।

प्रदर्शनका सहभागी विद्यार्थीहरुले अमेरिकी राष्ट्रपति जो बाइडेन र विश्वविद्यालय प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथी गरिरहेको नरसंहारलाई राष्ट्रपति बाइडेनले प्रोत्साहन स्वरुप हतियार दिने गरेको आरोपसमेत लगाएका छन् ।