
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ यो दिवस बनाइदैछ ।
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको हो ।
सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
यसैगरि आज राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारमा शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्