
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको बताउनुभयो । उहाँले ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।
‘मिडिया सम्बन्धी अनेक कानून निर्माणको प्रक्रियालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको छ । सरकारले पूर्वप्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढंगले वितरण गर्ने व्यवस्था गरेको छ । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिँदैछ । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन दिइने छैन । मिडियासँग सम्बन्धित विधेयकमा केही प्रश्नहरु तपाईंहरुले उठाइसकेपछि मैले त्यसलाई अहिले रोकेर फेरि पत्रकारहरुसँग छलफल गरी त्यसको सम्बोधन गरी नयाँ विधेयक लैजानुपर्छ भनेर रोकेको छु ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
साथै प्रधानमन्त्री दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताउनुभयो । उहाँले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गर्नुभयो । उहाँले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिरसमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्