१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुँदैछ : सञ्चारमन्त्री शर्मा


117
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवद्र्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसदमा दर्ता भएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्मा पेश गर्ने तयारी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले छाता कानूनको रुपमा आमसञ्चार ऐन, बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायको रुपमा आम सञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवद्र्धन, श्रमजीवि पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच पनि बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले कानून निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताउनुभयो । उहाँले नयाँ प्रविधिसँगै आएका चुनौतिहरुको सामना गर्न आम सञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।