
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान नपुगेको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री जोशीले यस्तो बताउनुभएको हो ।
मन्त्री जोशीले सरकारले आवश्यक ध्यान दिन नसक्दा प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका प्रश्नहरु उठिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारलाई कामकारबाहीको प्रभावकारी बनाउने कुरामा संघ सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको बताउनुभयो ।
मन्त्री जोशीले मन्त्रालयका कामकारबाहीलाई व्यवस्थित बनाउने कुरामा पनि कमजोरी रहेको बताउनुभयो । उहाँले आफूले चाहेअनुसार मन्त्रालयको काम कारबाही अघि बढाउन नसकेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले संघीय मामिला र सामान्य प्रशासन सम्बन्धी दुई वटा विषय हेर्नुपर्दा संघीय मामिलाका विषयहरु ओझेलमा पर्ने गरेको बताउनुभयो ।
मन्त्री जोशीले संघीय निजामति सेवा ऐन देशव्यापी रुपमा सुशासन कायम गर्न विधेयक चाँडो भन्दा चाँडो पास गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कर्मचारीका समस्या कानूनतः समाधान गर्नसक्ने अवस्था नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्