
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान अझै पूर्ण नरहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई बसन्तपुरमा आज सम्बोधन गर्दे उहाँले संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले इमान्दार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने पनि बताउनुभयो । नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले संघर्ष गर्दै आएको उहाँको भनाइ थियो ।
‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ । इमानदार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकसहितको संवैधानिक व्यवस्था भएको पनि उल्लेख गर्नुभयो । उहाँले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्