
बैतडी । महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–सिल्लेगडा सडकखण्डको सुर्नया गाउँपालिका–३ सिदुनमा दुर्घटना भएको हो ।
धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ज ३८५ नम्बरको जिप आज बिहान करिब २ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेका छन् ।
घाइतेमध्ये प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ । जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेको प्रहरीले जनाएको छ ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्