
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताउनुभएको छ ।
बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पु¥याउने बताउनुभयो । उहाँले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राख्नुभयो । उहाँले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्व दिनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा उत्पादित वस्तुको प्रवद्र्धन गरी उद्योगहरुको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्