
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्