
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा आफ्ना धाराण प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले सरकारको तर्फबाट संसदमा पेश गर्ने विधेयकहरू निक्र्यौल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने बताउनुभयो । उहाँले सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले सभाको पन्ध्रौं अधिवेशन अवधिमा दुवै सभाबाट ३ वटा विधेयक पारित भएको र त्यसमध्य दुई वटा विधेयक राष्ट्रिय सभामा नै उत्पत्ति भएका विधेयक रहेको बताउनुभयो । उहाँले सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेका बताउनुभयो । उहाँले २ वटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका छन् भने १० वटा विधेयक राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको बताउनुभयो ।
अध्यक्ष दाहालले विचाराधीन रहेका १० वटा विधेयक यसै अधिवेशन अवधिमा प्रमाणीकरण हुने आशा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्