
काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने मौसम विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।
विभागका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
शनिबार राति मुलुकभर आंशिकदेखि साधारणतया बदली हुने तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
आगामी २४ घण्टामा मुलुकका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्