
काठमाडौं । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताउनुभएको छ ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता थापाले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताउनुभएको हो । उहाँले कांग्रेसले आजको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताउनुभयो ।
दलका नेता थापाले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली कांग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताउनुभयो ।
प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाईको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्