८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन’


0
Shares

काठमाडौं । नेकपा एमालका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसमितिले आगामी बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गरेको प्रति असन्तुष्टि जनाउनु भएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थसमिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैंकसँग बजेट सुझाव दिन बोलाएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

पूर्वअर्थमन्त्री पौडेलले अर्थसमिति बजेट बनाउने निकाय नभएकाले समितिले राष्ट्र बैकले अर्थ मन्त्रालयलाई दिएका सुझाव समितिलाई बुझाउनु गलत भएको बताउनुभयो । उहाँले समितिले राष्ट्र बैंकसँग बजेटको विषयमा सुझाव माग गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । उहाँले समिति सभापतिले समितिमा छलफल गर्ने विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्न राष्ट्र बैंकले महत्वपूर्ण भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान भएको अवस्थामा बैंकबाट ऋण लिएका व्यवसायीहरु यतिबेला सावाँ ब्याज समयमा नै बुझाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको तथ्याङ्कले नै मुलुकमा माग, उत्पादन, सप्लाई, उपभोगमा कमी भएको बताउनुभयो । उहाँले व्यवसायीहरुले लिएको ऋणको साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले उत्पादन बढाउने,रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने भन्दा पनि ऋणको बोझबाट कसरी बाहिर निस्कने भन्ने चिन्तामा व्यवसायीहरु रहेको बताउनुभयो । उहाँले यस्तो समस्यालाई सम्बोधन गर्नको लागि सरकार र राष्ट्र बैंकले वृहत छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।