२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काँग्रेससँग प्रधानमन्त्रीका दुई आग्रह : सहकारीका समस्या समाधान हुन्छन्, संसद अवरोध नगर्नुस्


728
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो ।

काँग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको बताउनुभएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताउनुभयो ।

छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुग्नुभएको थियो । छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

‘मुलतः प्रधानमन्त्रीज्युले दुई वटा कुरा भन्नुभएको छ । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोशिस र काम गरिरहेको छु र समस्या समाधान गर्न प्रयासरत छु भन्नुभयो । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिनुस्, सहयोग गरिदिनुपयो भन्नुभएको छ । म समस्या समाधानका लागि लागिपरेको छु भन्नुभएको छ । हामीले उहाँले भन्नुभएको कुरालाई संसदीय दलको बैठकमा निर्णय गरेर निस्कर्षमा पुग्छौँ भन्नुभएको छ । समस्या समाधानका लागि सबैसँग छलफल गरिरहेको र समस्या समाधान गर्ने प्रयत्नमा छु भन्नुभएको छ, यसलाई हामी व्यवहारमा देख्न चाहन्छौँ । सहकारीको यत्रो ठूलो रकम अपचलनमा उहाँ जिम्मेवार हुनुहुन्छ । काँग्रेस डराउनुपर्ने कारण छैन । प्रधानमन्त्रीले भनेको कुरा सरोकारको विषय हो ।’ प्रमुख सचेतक लेखकले भन्नुभयो ।

प्रमुख सचेतक लेखकले सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाउनुभएको प्रतिवद्धता काँग्रेसले व्यवहारमा देख्न चाहेको बताउनु भयो ।