२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखापर्‍यो : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको छ ।

मंगलबार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको हो ।

अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताउनुभयो । उहाँले आफूहरुले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले आफूहरुको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुंगो लगाउन सकिने उहाँको भनाई छ । उहाँले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरुले त्यस्तो हल्ला चलाएका बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताउनुभयो । उहाँले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताउनुभयो । उहाँले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गर्नुभयो । उहाँले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताउनुभयो । अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको उहाँले बताउनु भयो ।

उहाँले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।