९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गगन थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको अध्यक्ष ओलीको आरोप


0
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताउनुभएको छ ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताउनुभएको हो ।

महामन्त्री थापाले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गर्नुभयो । उहाँले काँग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गर्नुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको बताउनुभयो । उहाँले भ्रष्टाचारमा दोषि करार भएका काँग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताउनुभयो । उहाँले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताउनुभयो । उहाँले आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने बताउनुभयो । उहाँले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएको बताउनुभयो । उहाँले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै काँग्रेसले बैठक रोके नमान्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गर्नुभयो । कांग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उहाँको भनाई छ ।