
काठमाडौं । सांसदहरुले आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरुका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ । यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन ।
यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडी बढ्ने दाबी गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताउनुभयो । उहाँले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताउनुभयो । उहाँले संसदीय छानविन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । उहाँले सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताउनुभयो । उहाँले सो प्रकरणको छानविन गर्नुपर्ने र काँग्रेसका कोही दोषि भएमा कारबाही भोग्न तयार रहेको बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली कांग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिनुभयो । उहाँले कांग्रेससँग सहमति भएर ४ बजेको संसद खुल्ने दाबी गर्नुभयो । उहाँले संकटग्रस्त सहकारीहरुको छानविन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सांसद शेखर कोईरालाले पनि ४ बजेसम्म सहमती जुट्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
संसद बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरु आ–आफू संसद खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्