२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने


819
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

बिहीबार बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली कांग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताउनुभएको हो । उहाँले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिनुभयो ।

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न तयार नभएको बताउनुभयो । उहाँले गृहमन्त्री लामिाछानेकेन्द्रित छानविन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताउनुभयो ।

उहाँले सरकारले गृहमन्त्री लाािमछानेको विषयलाई सामान्यिकरण गरेर छानविन समिति बनाउन खोजेको भन्दै सो कुरा काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।