१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसद सञ्चालनमा सभामुखको भुमिका तटस्थ भएन : काँग्रेस


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठगलाई बचाउने कार्यमा लागेको आरोप लगाएको छ ।

शुक्रवार संसद भवन परिसरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित विरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौंं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताउनुभयो । उहाँले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति गठन गर्न पुनः माग गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर काँग्रेसले गरेको बताउनुभयो ।

‘सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भुमिका तटस्थ हुनुपर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पदसमेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली काँग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’ प्रमुख सचेतक लेखकले भन्नुभयो ।

प्रमुख सचेतक लेखकले संसदीय मान्यतामा सभामुखको भुमिका तटस्थ हुनुपर्ने भन्दै सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि बताउनुभयो ।