
नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयले ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
भारतबाट ल्याएका उक्त कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो गएको भन्सार कार्यालयको गस्ती टोलीले बर्दघाट नगरपालिकाको चिसापानीबाट बरामद गरेको भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुडालले जानकारी दिनुभयो ।
चिसापानी हस्पिटल पछाडीको सडक किनारमा रोकी राखेको जीपमा लोड गरी अन्यन्त्र पठाउने उद्देश्यले जीप नजिक रहेको खाली ठाउँमा बोरामा लुकाएर राखेको अवस्थामा कपडा बरामद गरिएको चुडालले बताउनुभयो । कपडा लोड गर्नका लागि बसेका व्यक्तिहरु भन्सारको गाडी देखेपछि भागेको उहाँले बताउनुभयो ।
बरामद भएका कपडामा रेडिमेड लेडिज कुर्तासुरवाल, लुङ्गी, ब्लाउजका थान कपडा रहेका छन् । बरामद कपडाको मूल्य ४ लाख ९० हजार कायम गरी लिलाम प्रकृया अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो पटक भारतीय सीमावर्ती क्षेत्र भूजहवा, बलिनगर, झोलनीपुरलगायतका नाकाबाट कपडा, कुखुरा र खाद्यान्नको तस्करी बढेको स्थानीयले बताएका छन् । तस्करी बढेको गुनासो आएपछि कार्यालयबाट गस्ती गर्ने कार्यलाई बढाइएको भन्सार कार्यालयले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्