
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गर्नुभएको बताउनुभएको हो ।
मन्त्री गिरीले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले कार्यदलले संसदीय छानविन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद बैठक रोक्नुपर्ने कारण नभएको बताउनुभयो । उहाँले संसदभित्रको समस्याहरुलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । उहाँले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भ¥याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गर्नुभयो ।
मन्त्री गिरीले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि(मंगलवार) बस्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्