
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।
निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउन माग गर्दै यादवले आइतबार दायर गरेको रिट सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो । इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । मुद्दाको पेशी मंगलबारका लागि सरेको छ ।
रिटमा सोमबार अन्तरिम आदेश आएको भए अशोक राईलगायत ७ सांसदले प्रधानमन्त्री पुष्पकमला दाहालले विश्वासको मत दिन पाउँदैन थिए । उनीहरुले सोमबार विश्वासको मत दिइसकेका छन् । यादवले यसअघि दिएको रिटमा पनि भोलीलाई पेसी तोकिएको छ । यादवले आयोगको निर्णय बदर हुुनुपर्ने र पार्टी छाडेका सांसदलाई संसदीय भूमिकाबाट निलम्बित राख्ने आदेश माग गर्दै सर्वोच्चमा हिजो अर्को रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्