२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहकारी पीडित पुनः आन्दोलनमा


403
Shares

काठमाडौं । सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् ।

सहकारी पीडित बचतकर्ताहरु संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।

अध्यक्ष केसीले सरकारले सञ्चालकलाई कारबाही गरी बचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरुको माग रहेको बताउनुभयो । उहाँले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताउनुभयो । उहाँले सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाईको रुपमा अघि बढेको बताउनुभयो ।

अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिनुभयो । उहाँले सहकारी पीडितहरुले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बचाउनभयो ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे,हाम्रो बचत रकम फिर्ता गर, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।