
काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा उत्तरी बंगालको खाडीमा रहेको ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ । सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्