२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नारायणगढ–मुग्लिङ सडकमा चार वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते


1.144k
Shares

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चितवन भरतपुर महानगरपलिका–२९ मा आइतबार राति भएको दुर्घटनामा २२ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिचान नखुलेका अन्दाजी १६–१७ वर्षका किशोरको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा र १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।