२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : गृहमन्त्री लामिछाने


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले वर्षायाम सुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताउनुभयो । उहाँले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिनुभयो । उहाँले अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिनुभयो ।

गृहमन्त्री लामिछानेले विपद्मा उद्धार र राहतका लागि अफ्ठ्यारा अवस्थाहरुलाई मन्त्रीपरिषद्ले गर्नुपर्ने कुनै काम र कानून भए तत्काल दिन आग्रह गर्नुभयो । उहाँले विपद्मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउन निर्देशन दिनुभयो । उहाँले अति जोखिम क्षेत्रका नागरिक बचाउन अहिलेदेखि नै तयार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले उक्त लक्ष्य पूरा गर्नको लागि सम्बन्धि निकायहरुले त्यही अनुसार अहिलेदेखि तयार थाल्न जरुरी रहेको बताउनुभयो ।