
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरु गरेको छ ।
समितिले सोमबारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल सुरु गरेको हो ।
समितिले चारवटा दफामा छलफल गरेको छ । दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरुले सम्बन्धित दफाहरुमा आ–आफ्नो धारणा राखेका छन् भने समितिका संशोधनकर्ता सांसदहरुले पनि आ–आफ्नो धारणा राखेका छन् ।
समिति सभापति अम्मरबहादुर थापाले चारवटा दफामा छलफल भएको भएपनि कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो । उहाँले छलफललाई जारी राख्ने र संशोधनकर्ताले उठाएका कुराहरुलाई मध्येनजर गर्दै निष्कर्षमा पुगिने पनि जानकारी दिनुभयो ।
राष्ट्रिय सभाबाट प्रतिवेदनसहित पारित भएर आएको सो विधेयकको सम्बन्धमा सांसदहरुले एकल र संयुक्त रुपमा १९ वटा संशोधनको प्रश्ताव दर्ता गरेका थिए । समितिले संशोधनकर्ताहरुसँग छलफल गरिसकेको छ । समिति सभापति थापाले अब सो विधेयकको सम्बन्धमा दफाबार छलफल निरन्तर अगाडी बढ्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्