
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रुपमा चित्रण गर्नुभएको छ ।
ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामर्थ्य भएको नेताको रुपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गर्नुभयो ।
पार्टी निकट पेशागत महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामर्थ्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गर्नुभयो ।
उहाँले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रुपमा अघि बढाउनुपर्ने दोहो¥याउनुभयो । महासचिव पोखरेलले सबै राजनीतिक दलहरु उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
महासचिव पोखरेलले संघीयता अनुकुलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्