२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्‍चालन गर्ने


117
Shares

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्‍चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरणका कार्यक्रम सञ्‍चालन गर्ने जानकारी दिनुभएको हो ।

अर्थमन्त्री पुनले विपद् व्यवस्थापन र जलवायु अनुकुलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्‍चालन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्‍चालन गर्ने उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चहरूमा संवाद गरी हिमाल जोगाऔं, मानवता बचाऔं अभियानलाई निरन्तरता दिइने पनि बताउनु भयो ।

अर्थमन्त्री पुनले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकुलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताउनुभयो ।