
लस एन्जलस, भदौ २९ । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर)को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ ।
अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधारसहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीएफआरको प्रयोगमार्फत् चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रीसँग सम्झौता गरिसकेको बताएको छ ।
अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो । स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्री लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।
सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुईजना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।
स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रीलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमकाबारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।
स्पेसएक्ससमक्ष एएफपीले विस्तृत् विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबारमात्र विस्तृत् जानकारी दिइने जनाएको छ ।
मानवले सन् १९७२ मा एपोलो रकेटमार्फत् चन्द्रमामा पहिलो पाइला टेकेका थिए । चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् ।
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को मुख्य व्यापारिक साझेदार कम्पनी हो । यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।
बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ ।
स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ ।
स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ ओटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्नसक्दछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्