१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुगुमा यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु


754
Shares

काठमाडौं । दुई दिन यता यार्सागुम्बा संकलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । उनीहरूको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएकामध्ये एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ लैजाँदै गर्दा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका सिकिस्त भएका जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी भएपछि उपचारका लागि मुगु गाउँ लगिएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो ।

गत वर्ष पनि यार्सा टिप्न पाटन गएका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।

यसवर्ष मुगुका मुगुमकार्मारोङ्ग गाउँपालिकाले २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।