१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संसदमा बजेटमाथिको छलफल : अर्थमन्त्री तथा पूर्व अर्थमन्त्रीहरु


468
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र अहिले पनि पुरै लयमा आउन नसकेको स्वीकार्नुभएको छ । प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलको प्रस्ताव पेश गर्दै मन्त्री पुनले अर्थतन्त्रलाई लयमा ल्याउन सरकार ईमान्दारीपूर्वक लागि रहेको बताउनुभयो ।

अर्थतन्त्रलाई लयमा ल्याउन निजी क्षेत्रको मनोबल उठाउनु पर्ने र त्यसका लागि नीतिगत स्थिरता जरुरी ठानेर सोही अनुसारको बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ थियो । राजश्वका दरहरुमा पनि निकै कम चलेको र जति राजश्वका दरमा परिवर्तन भएको त्यो पनि उत्पादनसँग जोडिएको उहाँको जिकीर थियो ।

सत्ता र प्रतिपक्षका सांसदहरुले समेत स्रोतको संकुचनका बीच पनि वस्तुवादी बजेट आएको प्रतिक्रिया दिनुले बजेट सन्तुलित छ भन्ने महसुश भएको अर्थमन्त्री पुनको भनाइ थियो ।

बजेटमाथिको छलफलमा सहभागी हुदै काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको आरोप लगाउनुभयो । सरकारले आवश्यकका आधारमा नभइ आफू खुशी बजेट विनियोजन गरेको भन्दै उहाँले पहुँचवाला मन्त्रालयमा बजेट थुपारेको जिकीर गर्नुभयो ।

देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गरेको तर अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा बजेट थुपारेको पूर्व अर्थमन्त्री महतको आरोप थियो ।

यस्तै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको भन्दै अर्थमन्त्री पुनले चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताउनुभयो ।

२० खर्बको हाराहारीमा बजेट आउने आशंका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु सुनिँदा सन्तुलित आकारको बजेट आएको पूर्व अर्थमन्त्री पौडेलको भनाइ थियो । बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जान सकिने भन्दै पौडेलले बजेटलाई महत्वकांक्षी भन्दा पनि उच्च आकाँक्षी भन्न मिल्ने तर्क गर्नुभयो ।

सरकारले राज्यका सबै संरचना र संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको भन्दै पूर्व अर्थमन्त्री पौडेलले ऋण तिर्न ऋण लिनुपर्ने अवस्थाले चाहीँ सुखद् संकेत नगर्ने बताउनुभयो ।