
काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरुमा असर परेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धामा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्युनिकरणका लागि पहल गनुपर्नेमा जोड दिनुभएको हो ।
उपसभामुख रानाले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरुलाई खासै जानकारी नभएपनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरुलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरु उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताउनुभयो ।
उपसभामुख रानाले उहाँले तराईमा पनि विभिन्न रोगहरु भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरु विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट परेका असरको न्युनिकरणमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘शहरमा बस्ने मानिसलाई त्यत्ति थाहा हुँदैन । यो जलवायु परिवर्तनका कारण के भइरहेको छ, कस्तो असर भइरहेको छ भन्ने । किनभने अस्पतालहरु सबै यहीँ छ । जो हिमाल र पहाडको विकट ठाउँमा बस्नेहरुलाई यसले ठूलो असर पारेको छ । बालीहरु पहिलाको जस्तो फलाउन नसक्ने समस्याहरु उहाँहरुले राख्नुभएको थियो । जलवायु परिवर्तनले गर्दा अहिले त्यहाँ उत्पादन हुन सक्दैन । जलवायु परिवर्तनले गर्दा विशेष गरी गर्भवती महिलाहरु, वृद्धवृद्धा र बालबालिकाहरुमा बढी असर परेको हुन्छ ।’
उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएको उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरुको पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आजदेखि नै सबै मिलेर लाग्न्ुको विकल्प नरहेको बताउनुभयो । उहाँले नेपालमा भएका प्राकृतिक श्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजान सके समृद्ध देश बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्