७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विश्व वातावरण दिवस : राष्ट्रपतिबाट शुभकामना व्यक्त


182
Shares

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नु भएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासाथ यो दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा आज वातावरण दिवस मनाइँदैछ ।

यस अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने सन्देश दिनुभएको हो ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलको सन्देशमा विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको उल्लेख छ ।

‘प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ राष्ट्रपति पौडेलकले सन्देशमा भएको छ।

संयुक्त राष्ट्र सङ्घले आह्वान गरेअनुसार हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।