२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री लामिछाने


455
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

गृहमन्त्री लामिछानेले सरकारले गृहमन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताउनुभयो । उहाँले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गर्नुभयो । उहाँले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्नेगरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले नियमावली बनाउने विषयमा पर्याप्त रुपमा छलफल भइसकेकाले तत्काल नियमावली आउने बताउनुभयो । उहाँले गाँजा खेती अध्ययनका विषयमा पदभार ग्रहण गरेदेखि नै चासो दिएर काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले गाँजा खेतीका लागि कानून बनाउने नेतृत्व गृह मन्त्रालयले नै गर्ने बताउनुभयो । उहाँले लागुऔषध नियन्त्रण ऐन,२०३३ को दफा (४) १ मा नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफँै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न र खरिद बिक्री गर्न सरकारले नियमन बनाई व्यवस्था गर्नसक्ने र सो अनुसार अनुमति पत्र प्राप्त गरी काम गर्दा अपराध गरेको नमानिने उल्लेख गरेको बताउनुभयो । उहाँले नियमवाली बनेपछि गाँजाको अध्ययन अनुसन्धान गर्नेकुरा तत्काल हुने भन्दै गाँजाको औषधि अनुसन्धान र अध्ययन गर्नको लागि गृह मन्त्रालयले नियम र नियमावली बनाएर अगाडि बढ्न कुनै बाधा नगर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले अध्ययन गर्ने उद्देश्यले नियमावली बनाएर गृहमन्त्रालय अघि बढ्ने बताउनुभयो । उहाँले गाँजा खेतीका विषयमा कानून बन्दै गर्दा अध्ययन र अनुसन्धान रोकिन नहुने धारणा राख्नुभयो । उहाँले विश्वका धेरै देशले अध्ययन गरी औषधिजन्य प्रयोग गरेर प्रमाणित गरी लागू गरी सकेको अवस्थामा अध्ययन र अनुसन्धानको लागि कानून बनाउन हुँदैन भनेर अड्किएको पाटोलाई गृह मन्त्रालयले सहजिकरण गर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनी बढेको र गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको भन्दै गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनमा फसेकालाई अर्को मौका दिने तर कारोबार गर्नेलाई छुट दिन नसकिने नीति सरकारको रहेको बताउनु भयो ।

गृहमन्त्री लामिछानेले कतिपय ठाउँमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि हुने रहेछ भन्ने उदाहरण समितिमा भएको छलफलले देखाएको बताउनुभयो । उहाँले गाँजा खेतीका विषयमा समितिमा भएको वृहत छलफलमा सबै एकै ठाउँमा उभिए पक्ष र विपक्ष नदेखिएको बताउनुभयो ।