८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्री दाहाल एकैदिन आधा दर्जन कार्यक्रममा सहभागी


208
Shares

काठमाडौं । काम भन्दा कुरामा रमाउने र कुरैकुराले जनतलाई भ्रमित पार्ने नेपाली नेताहरुको आमचरित्र हो । दैनिक औपचारिक कार्यक्रमहरुमा पुग्ने र कार्यक्रम अनुसारका भाषण गर्ने कलामा उनीहरु निपूर्ण छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यसबाट अछुतो हुनुहुन्न । शुक्रबार प्रधानमन्त्री दाहाल कम्तिमा आधा दर्जन औपचारिक कार्यक्रममा सहभागी भएर व्यवस्था विरोधीहरुसँग लड्न आह्वान गर्नेदेखि आफैं सहकारी पीडित भएको गुनासोसम्म गर्न भ्याउनुभयो ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले संघीयता चाहिदैन भन्नेहरूले प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिस गरेको भन्दै त्यस्तो प्रवृत्तिविरुद्ध लड्न आह्वान गर्नुभयो ।

बालुवाटारको कार्यक्रमपछि आइसिटी फाउण्डेसनको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री दाहालले सूचना प्रविधि क्षेत्रका निम्ति आवश्यक नीतिगत विषय सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । दश वर्षमा ३० खर्बको सूचना प्रविधि सम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको रहेको उहाँले सुनाउनुभयो ।

आइसिटी फाउण्डेसनको कार्यक्रमबाट माओवादी पार्टीको समाज कल्याण विभागले गरेको कार्यक्रममा सहभागी हुनु भएका प्रधानमन्त्री दाहालले आफ्नो सरकार सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर समाजवादी क्रान्तिको आधार तयार पार्न लागि परेको भन्दै विदेशी सहायतामा निर्भर हुनु भन्दा आफ्नै पूंजी, शिप र प्रबिधिबाटै समाजवाद ल्याउन सकिने बताउनुभयो ।

पार्टीको कार्यक्रमबाट प्रधानमन्त्री दाहाल पुग्नुभयो सहकारी केन्द्रको कार्यक्रममा । त्यहाँ पुगेर प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान गर्न नसकिने निष्कर्षमा पुगेको सुनाउँदै प्राधिकरण बनाएर अघि बढने बताउनुभयो । सहकारी बोर्ड, विभाग सबैलाई एकीकृत गरेर प्राधिकरण बनाउने भन्दै उहाँले आफैं पनि सहकारी पीडित रहेको गुनासो गर्न पछि पर्नु भएन ।

सहकारी केन्द्रको कार्यक्रमबाट सिंहदरबार फर्केका प्रधानमन्त्री दाहालले उपत्यकाका नगरपालिकाहरुको साझा मञ्च मेयर्स फोरमसंग उपत्यकाको फोहोर ब्यवस्थापनबारे छलफल गर्नुभयो । प्रधानमन्त्री कार्यालयले नै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संघीय सरकारबाटै होस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

विभागीय मन्त्रीहरु उपस्थित भए हुने अधिकांश कार्यक्रमहरुमा प्रधानमन्त्री दाहाल आफैं सहभागी हुनुले उहाँको फुर्सदिलो अवस्था दर्शाउँछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा समय दिनु नपर्ने र काम भन्दा भाषणबाटै राजनीति चल्ने भएकाले प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुख दैनिक यस्ता कार्यक्रमहरुमा सहभागी हुन हौसिने गरेको विश्वास गरिन्छ ।