
काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ ।
बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।
त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
सभापति थापाले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको मागको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीसँग छलफल गर्ने पनि निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्