
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताउनुभएको छ ।
सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गर्नुभयो । उहाँले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भुमिका खेलेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताउनुभयो । उहाँले ओलीले सो धारणा सधैँ राख्दै आउनुभएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैँ राख्दै नै आउनुभएको छ । उहाँको धारणा, उहाँको पार्टीमा प्रश्तुत गर्नुभएको हो । यसले गठबन्धनलाई केही असर गर्दैन । उहाँले त यो धारणा सधैँ राख्दै आउनुभएको छ । हामी सबैले बुझेको हो । आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वभाविक नै ठानेको छु । यसले समीकरणमा केही हुन्छ की भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन ।’
प्रधानमन्त्री दाहालले गण्डकी प्रदेशका नेकपा (माओवादी केन्द्र) का सांसद फणिन्द्र देवकोटालाई निलम्वन गर्ने बताउनुभयो । उहाँले स्वभाविक रुपमा पार्टीले ह्वीप जारि गरिसकेको भन्दै संविधान र कानूनको मर्म विपरित फ्लोर क्रस गरेकालाई निलम्वन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्