२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै


104
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे बस्दैछ ।

प्रतिनिधिसभाको बैठकमा आजबाट विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । संसदमा गत आइतवारदखि नैं विनियोजन विधेयकमाथि छलफल गर्ने भनिएपनि सूचना टाँसेर दुई दिनका लागि बैठक स्थगित गरिएको थियो ।

आज बस्ने बैठकमा यो विधेकयमाथि मन्त्रालयगत छलफल प्रारम्भ हुनेछ । आज युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्नुहुनेछ ।

सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह र रमा काइराला पौड्यालले यी मन्त्रालयहरुको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची छ । आज संसदमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि बढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० पेस गर्ने कार्यसूची छ ।

त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।